Tuesday, July 2, 2024
worec
अपाङ्गता भएका महिलाले उत्पादन गरेका सामानले बजार नपाउँदा समस्या

Worec Admin

Worec Admin (Author: )

Dec 24, 2021 | General

84
Views
Event Date: 24 Dec 2021
डिएन चौधरी/उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका १० की बोक्सेकी २९ बर्षिया कल्पना नेपाली बाँसको मुढा बनाउँछिन् । सवारी दुर्घटनामा दुबै खुट्टा गुमाएकी उनले घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले २०७६ फागुनमा मुढा बनाउने १ महिने तालिम  दिएपछि व्याबसायिक रुपमा बाँसको मुढा बनाउन थालेकी हुन् । उनले बनाएको मुढा प्राय जसो गाईघाट बजारमै बिक्रि हुने गरेको छ । उनी भन्छिन्, ‘हप्तामा ४ ओटासम्म मुढा  बनाउने गरेकी छु, यसबाट परिवारको खर्च समेत चलेको छ ।’  उनका श्रीमान अटो चलाउछन् ् । नेपालीले उत्पादन गरेको प्रति मुढा बजारमा २ हजार देखी ३ हजार सम्ममा बेच्ने गर्दछिन । तर हिजोआज आधुनिक कुर्सीको माग बढि हुन थालेपछि मुढाको माग घटेको छ । उनी भन्छिन, ‘पहिलो जस्तो बिक्रि हुँदैन, हिजोआज त उत्पादन गर्न समेत मन लाग्दैन ।’ उनी थप्छिन्, ‘उत्पादन गरेको सामान  बिक्रि गर्न सहयोग कसैबाट  भए   जोखिम मोल्नुपर्ने थिएन ।’ केहि समय अघि हप्तामा ४ ओटा सम्म मुढा उत्पादन गर्दै आएकी उनी हिजोआज हप्तामा २ ओटा सम्म मुढा उत्पादन गर्ने गर्दछिन् । त्यहि पनि बिक्रि नहँुदा  व्यवसाय नै छोड्ने मनस्थिति रहेको उनको भनाई छ ।
 
उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटकी शान्ता परियारले  ४ बर्षदेखी ढाकाको टोपी उत्पादन गर्दै आईरहेकी छिन् । प्यारालाईसिसका कारण उनको दुबै खुट्टाले काम गर्न छाडेको ७ बर्ष भयो । तर उनले हिम्मत हारिनन्, बिस्तारै ढाकाको टोपी बनाउने काम सुरु गर्न थालिन् । घरेलु तथा साना उद्योग बिकास समिति मार्फत तालिम लिएपछि टोपी बनाउने काम सुरु गर्न थालिन् । ढाकाको टोपीबाट मासिक २५ हजार सम्म कमाई हुने गरेको उनको अनुभव छ ।  हातबाट  बुनेका ढाका टोपीको माग बजारमा धेरै छ । 
 
तर, यो वर्ष कोरोनाले गर्दा विगतमा झैं ढाका टोपीको व्यवसायमा उत्साह भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो ख्याति कमाएको ढाका टोपी यो वर्ष भने कोरोनाले गर्दा उत्पादन तथा बिक्री गर्ने व्यवसायी भने धरापमा परेको व्यवसायीहरू बताउँछन् । बन्दाबन्दीले घरभित्रै राखे पनि तिहारमा  व्यापार हुने अपेक्षा व्यवसायीहरूले गरेका थिए ।
बजारमा हातबाट बुनेका ढाका टोपीको मूल्य करिब १ हजारदेखि ४ हजार रुपैयाँ पर्दछ । तर, बजारमा तिहारका लागि बढी मेसिनबाट उत्पादन भएको १ सयदेखि ५ सय रुपैयाँमा ढाका टोपी पाइने गर्छन्  ।
विगत वर्षमा तिहारमाबिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । तर यो वर्ष पसल खोलेर मात्रै  बसेको  परियार बताउँछिन् ।
गत वर्ष  तिहारमा मात्रै करिब ३ लाखको व्यापार गरेको अनुभव छ   ।
लामो समयको लकडाउन गर्दा  घरेलु उद्यमीले कच्चा पदार्थ भएसम्म उत्पादन गरेका छन् । त्यसले गर्दा बजारमा ढाका टोपीको भने अभाव नहुने उनको बुझाइ छ ।
‘ढाकाटोपीको मुख्य व्यापार हुने नै तिहारका बेला  हो,’ उनले भनिन्, ‘कोरोनाले गर्दा लामो समयको बन्दाबन्दीले गर्दा व्यापार ठप्प थियो । त्यो बेलादेखि भाडा खप्टिएकाले तिहारमा व्यापार गरी तिरौंला भन्ने थियो । तर त्यो पनि भएन । यसले गर्दा हामी एकदम मारमा परेका छौं ।’
संर्घषबाट सफलता
त्रियुगा नगरपालिका–१० बोक्सेकी ३५ वर्षिय रचना राईले वैदेशिक रोजगारीका क्रममा बाँया हातको पञ्जा गुमाईन् । २०६२ सालमा मलेसियामा  काम गर्ने क्रममा मेसिनले हात किचेपछि उनले हात गुमाइन् ।  हृदयघातका कारण श्रीमानको मृत्यु भएपछि २ सन्तानलाई सासु ससुराको जिम्मा लगाएर उनी विदेशिएकी थिईन् । मेलेसिया पुगेर काममा लागेको दुई महिनामा हात गुमाउनु परेको उनले बताईन् ।
हात गुमे पनि आत्मबल उस्तै थियो । केही गर्ने अठोटकै कारण उनी अहिले सफल उद्यमी बनेकी छिन् । बाँस फर्निचर उद्योग सञ्चालन गरेर राईले राम्रो आम्दानी गर्दै आएकी छिन् । 
 उनका अनुसार २०६७ सालमा घरेलु तथा साना उद्योगले बाँसका सामग्री बनाउने तालिम आयोजना गरेको थियो । तालिममा सहभागी हुन उनले आवेदन दिईन् । तर,  हातको पञ्जा नभएकाले बाँसका सामग्री बनाउन नसक्ने ठहर गर्दै उनलाई तालिमबाट बञ्चित गरियो । ‘सहभागी हुन नपाएपछि मैले आफैं सामग्री बनाउने प्रयत्न गरेँ’, राईले भनिन्, ‘मेरो प्रयत्न अहिले सार्थक भएको छ । बाँसका सामग्री राम्ररी बनाउँछु । बिक्री गरेर राम्रो कमाई गरिरहेको छु ।’
 
तालिम लिन नपाए पनि कागजमा चित्र कोर्ने त्यसैका आधारमा बाँसका सामान बनाउन थालिन् उनले । सुरुमा उनले बाँसको भाटाबाट आल्ना बनाएकी थिईन् । पहिलो आल्ना बनाउन पाँच दिन लागेको उनी सुनाउँछिन् । ‘सात सय रुपैयाँ खर्चिएर तयार पारेको पहिलो आल्ना एक सय ६० रुपैयाँमा बिक्री गरेँ’, उनले भनिन् ‘मैले बनाएको पहिलो सामान घाटा मै बिक्री भएपछि प्रेरणा मिल्यो ।’ मेहनत गरेर बनाएको सामान बिक्री भएपछि काममा जाँगर चलेको उनी बताउँछिन् । 
सामान राम्ररी बनाउन जान्ने भएपछि उनले ‘रचना बाँस फर्निचर उद्योग’ दर्ता गरिन् ।  उनको यो फर्निचर उद्योगबाट एक सय प्रकारका बाँसबाट निर्मित सामान बनाइन्छ ।  ‘१० दिनमा एउटा पलङ बनाउँछु’, उनी भन्छिन् ‘एउटा पलङ २० हजार रुपैयाँ सम्ममा बिक्री गर्छु ।’
घरेलु तथा साना उद्योगले राईलाई अहिले प्रशिक्षकको रूपमा लिएको छ । बाँसका सामग्री बनाउने तालिम दिनुपरे राईलाई प्रशिक्षक तोक्ने गरिन्छ । 
 । फर्निचर बिक्री गरेर महिनामा ३० हजारभन्दा धेरै फाइदा हुने उनले सुनाइृन् । ‘मेरो हात नभएर के भो र ? ’, उनी भन्छिन्, ‘मैले जति सपांगले कमाउँदैनन्’ 
 
बजार अभावका कारण पेशाबाट  बिस्थापित
ताप्ली गाउँपालिका ५ स्थित बिजुवाका अपाङ्गता भएका महिलाहरु बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन्  ।
बजारको पहुँच  नहुँदा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा हिराकुमारी विश्वकर्मा बताउँछिन् । त्यसक्षेत्रमा बसोबास गर्ने आधा दर्जन अपाङ्गता भएका महिलाहरु बाँसका सामानहरू उत्पादन गर्दै आईरहेका छन् । उनीहरुले उत्पादन गरेका सामग्रीहरु परिवारका अन्य सदस्यहरुले बिक्रिका लागि लैजाने गर्दछन् ।
‘बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन’, ३९ वर्षीय हर्कमाया मगरले दुखेसो पोखिन् । ‘बालबालिका यही पेशा गरेर हुर्काइयो, अहिले मासिक  १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन’, मगरले भनिन् । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिईन् । 
बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् ।
 ‘चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन् । बिजुवामा रहेको अपाङ्गता भएको बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्’, स्थानीय बासिन्दा कुन्ता सुनुवारले बताईन् । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उनले भनिन् , ‘भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।’
 
 
उत्पादित सामानले बजार नपाउँदा सकस
गाईघाटमा रहेको कोसेली घरमा जिल्लाको गाईघाट, नेपालटार, बेलका, चौदण्डीगढी लगायतका स्थानहरुबाट सामग्रीआउने गरेका छन् । जसमा बिभिन्न स्थानका महिलाहरुले उत्पादन गरेको सामान समूह मार्फत कोसेली घरमा आउने गर्दछ । जसमा अरु महिलाहरुको तुलनामा अपाङ्गता भएका महिलाहरुले उत्पादन गरेको सामानहरु कमै मात्रामा आउने गरेको कोसेली घरका संचालक राज कुमार श्रेष्ठको भनाई छ । उहाँका अनुसार गुणस्तरिय सामग्री उत्पादन गर्न चाहिने कच्चा पदार्थको अभावमा उनीहरुले त्यस्तो समस्या झेल्नुपरेको बताउँछन् । 
 
लामो समय देखी  उन र ढाकाबाट बिभिन्न सामग्रीहरु उत्पादन गर्दै आएकी गाईघाटकी शारिरिक अपाङ्ग शान्ता चौधरी आफुहरुले उत्पादन गरेको सामान पहिला जस्तो धेरै बिक्रि हुन छाडेको बताउनुहुन्छ । । उच्च रक्तचापका कारण प्यारालाईसिस भएपछि उहाँको देब्रे खुट्टा नचल्ने अवस्थामा छ । तर शारिरीक अशक्तताको बावजुत पनि उहाँ हस्तकलाको समान बनाउनुहुन्छ ।। 
उहाँ भन्नुहुन्छ, पहिलाको – “२ बर्ष अघिको बिक्रीको सरदर अवस्थालाई हेर्ने हो भने मैले एक दिनमा एक हजारदेखि १५÷१६ हजारसम्म बिक्री गरेकी छु, तर हिजोआज मुस्किलले २ हजारसम्मको सामग्री बिक्रि हुन्छ ।” 
साथै अपाङ्गता भएका महिलाहरुको सिप बिकासका लागि  लगानी गर्न कन्जुस्याईँ गरेका कारण  यस्तो भएको बताउनुहुन्छ । यसका साथै अपाङ्गता भएका महिलाहरुलाई बिभिन्न आयमुलक सिप तथा व्यवसाय संचालनका लागि तालिम दिनुका साथै उनीहरुले उत्पादन गरेका सामान बजारसम्म पु¥याउने व्यवस्था  गर्नुपर्ने उहाँको माग छ ।
 
चौधरी भन्नुहुन्छ, ‘हामी सामान त उत्पादन गछौं तर कहाँ लगेर बिक्रि गर्ने, उचित मुल्य र बजार पाईन्छ की पाँईदैन भन्ने तनाव समेत लिनुपर्ने अवस्था छ । जसका कारण धेरै अपाङ्गता भएका महिलाहरु त्यसै बसिरहनुपरेको अवस्था छ । 
 
 घट्यो नेपाली हस्तकला सामग्रीको निर्यात
आर्थिक वर्ष २०७७÷७८ को ९ महिनामा हस्तकलाका सामग्रीहरुको निर्यात ५ प्रतिशतले घटेको छ । नेपाल हस्तकला महासंघका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा हस्तकलाका सामग्री निर्यात कारोबारमा ५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको उक्त अवधिमा २ अर्ब ९५ करोड ७१ लाख रुपैयाँको हस्तकलाका सामाग्री विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ११ करोड ६३ लाख रुपैयाँको हस्तकला सामग्री निर्यात भएको थियो ।
चैत यता सरकारले गरेको बन्दाबन्दीका कारण खासै धेरै निर्यात नभएको महासंघले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ६४ करोड १ लाख रुपैयाँको हस्तकलाको सामग्री निर्यात भएको थियो । 
 
व्यवसायी संकटमा छन् 
कोरोनाले ठूलो उद्योग मात्रै नभई साना तथा घरेलु उद्योगको व्यापार  ५० प्रतिशतले घटेको घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
‘सरकारले नै घरमा रहेको सामानबाटै घर चलाउ भनेर आह्वान गरेकाले  यो वर्ष भने उत्पादन तथा बिक्री दुबै घटेको छ ।’ कोरोनाले गर्दा विदेशमा माग भए पनि नेपालबाट पठाउन नसक्दा ठूलो घाटा व्यहोरेको उनको भनाइ छ । ‘गत वर्ष करिब व्यवसायीहरूले उत्पादन गरेको करिब ९० प्रतिशत सामान सबै बिक्री भएको थियो,’ उनले भने, ‘तर, यो वर्ष भने बजारमा माग कम भएसँगै व्यवसाय संकटमा परेको छ ।’
त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले अपाङ्गता भएका स्थानीय महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनी तथा बिक्री कक्षका लागि ठाउँ तयार गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो । 
 अपाङ्गता भएका महिलाहरुको सीप र कलाबाट उत्पादित वस्तुको प्रयोग बढाउन सके आयात प्रतिस्थापनमा समेत ठूलो सहयोग मिल्ने बताउँछन्सरकारले स्वदेशी वस्तुको उत्पादन तथा खरिद बिक्रीमा टेवा पुगोस् भन्ने उद्देश्यले स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ जारी गरेको समेत उहाँले जानकारी  दिनुभयो ।
उ त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गर्नुभयो ।  ।
अध्यक्ष भगतले  अपाङ्गता भएका महिलालाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिनुभयो । 
नेपालको कुल जनसंख्याको १.९ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको देखिन्छ भने प्रदेश नं. १ को हकमा २.१ प्रतिशत देखिन्छ । यो प्रदेशमा परुुषको तलुनामा अपाङ्गता भएका महिलाको संख्या बढी छ । 
 ।
 

The article is republished with permission from the author.

This article orginially appeared in

https://khulaasa.com/news/2845

 
 
 
 
 

0 Comments
Latest Comments
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
Should we change our banner photo?
Latest Discussions